इन्टरनेट प्रोटोकल टिभी आउँदै

काठमाडौ, माघ २९ – आफूलाई मन लागेको बेला जुनसुकै प्रसारण हेर्न पाउने सुविधासहितको इन्टरनेट प्रोटकल (आइपी) टिभी नेपालमा सुरु हुने भएको छ । इन्टरनेट सेवा प्रदायक (आइएसपी) केही कम्पनीहरूले न्यु आइटी भेन्चरसँग मिलेर आइपी टिभी सुरु गर्न लागेका हुन् । जापानमा आइपी टिभी संचालन गर्दै आएको नेपाली कम्पनी न्यु आटी भेन्चरले नेपालमा प्रसारणका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ । आइएसपी कम्पनीहरू वल्र्डलिंक कम्युनिकेसन्स, ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन र भायनेट कम्युनिकेसनले त्यस टिभीलाई आफ्ना ग्राहकको घरसम्म पुर्याउन लागेका हुन् । ‘हामीले नियामक निकायबाट आपी टिभी प्रसारणको अनुमति पाएका छौं’, न्यु आइटी भेन्चरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत कमल अधिकारीले भने । आइपी टिभी हेर्न इन्टरनेट सर्भिस लिए पुग्छ । आइएसपीले ग्राहकलाई सेटअप बक्स उपलब्ध गराउँछन् । त्यसलाई जोडेर प्रत्यक्ष प्रसारणमा रहेका टिभीका अतिरिक्त केबलमार्फत आइएसपीले उपलब्ध गराएका विभिन्न सामग्री टिभीमा हेर्न सकिन्छ । आइपी टिभी हेर्न छुट्टै ब्याण्डविथको जरुरी पर्दैन । ग्राहकले जति स्पिडको इन्टरनेट लिए पनि उच्च गुणस्तरको हाइ डिफिनिसन (एचडी) पिक्चर हेर्न पाउने छन् । ‘ग्राहकले इन्टरनेट सर्भिसको शुल्कबाहेक केवल÷डिटिएच टिभीलाई तिरेजतिकै अतिरिक्त शुल्कमा आइपी टिभी उपलब्ध गराउने योजनामा छौं,’ वल्र्ड लिंक कम्युनिकेसन्सका प्रमुख प्राविधिक अधिकृत समित जनले भने, ‘प्रसारण सुरु भएपछि सबै सामग्री एकै ठाउँमा उपलब्ध हुने उच्च गुणस्तरको टेलिभिजन ग्राहकले न्युनको शुल्कमा पाउने छन् ।’ आइपी टिभी प्रसारण गर्न आइएसपीको आफ्नै पूर्वाधारलगायतका नेटवर्क प्रयोग हुने भएकाले अतिरिक्त खर्च हुँदैन । टिभीमा प्रसारण हुने सामग्री, सर्भर, हार्डवेयर, सफ्टवेयरलगायतका पूर्णधार न्यु आइटी भेन्चरले स्थापना गरेको छ । त्यसैलाई विभिन्न इन्टरनेट सर्भिस प्रदायकले बा“डेर प्रसारण गर्ने भएकाले ग्राहकले सस्तोमा सेवा उपयोग गर्न पाउने आइटी भेन्चरका प्रमुख कार्यकारी अधिकारीले दावी गरे । कम्पनीले १ महिनाभित्र पाइलट प्रोजेक्टका रुपमा १ सयवटा सेटअप बक्स वितरण गर्दैछ । ‘अहिले परीक्षणका क्रममा छौं’ आइएसपी एसोसिएसनका अध्यक्ष तथा भायोनेटका प्रमुख कार्यकारी विनय बोहराले भने, ‘आगामी बैशाख १ (नया बर्ष) देखि ब्यवसायिक रुपमा प्रसारण सुरु गर्ने तयारीमा छौं ।’ आइपिटिभीले टेलिभिजन प्रसारणमा परिवर्तन ल्याउने आइटी भेन्चरको दावी छ । अहिलेसम्म केबल, डिटिएच, टेरेस्टेरियल माध्यमबाट प्रसारण भइरहेका टिभीमा उनीहरूको प्रसारण मात्र एकोहोरो हेर्न पाइन्छ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकारीले भने, ‘आइपी टिभीमा टिभीमात्र नभइ आफूले चाहेका सबै सामग्री, चाहेका बेला जहा“सुकै बसेर हेर्न सकिन्छ । यसमा इन्टरनेटमा जस्तो दोहोरो अन्तक्र्रिया गर्न सकिन्छ ।’ आइपि टिभीको प्लेटफर्म प्रदायक न्यु आइटी भेन्चरले सर्भरमा सबै टिभीको लाइभ प्रसारण, ती टिभीका कार्यक्रमहरूको रेकर्ड राख्नेछ । त्यसलाई ग्राहकले चाहेको बेला आफ्नो टिभीमा हेर्न सक्नेछन । ‘आफूले हेर्दै आएको कुनै कार्यक्रम छुट्यो भनेर ग्राहकले चिन्ता गर्नु पर्दैन,’ उनले भने, ‘टिभीमा आफ्नो समयअनुसार जुनसुकै सामग्री जतिपटक पनि हेर्न सकिन्छ ।’ आइपी टिभीमा ओभर द टप (ओटिटी) सर्भिसहरू पनि प्रसारण गर्न सकिन्छ । यसमा इलर्निङ, टिभी कमर्स, डिजिटल साइनेज (विज्ञापन) लगायतका सामग्री प्रसारण गर्न सकिन्छ । आइपी टिभी खोल्दा टिभीको इन्टरफेसमा स्मार्टफोनमा जस्तै एप्लिकेसन्स देखिने छन् । रिमोटको सहायताले तिनै एप्लिकेसन्समा प्रवेश गरेर ग्राहकले आफूले चाहेको सामग्री हेर्न सक्छ । इलर्निङमा विद्यार्थीले डिजिटल क्लासमा छुटेको पिरियडको सामग्री आफूले चाहेको बेला हेर्न सक्छ । त्यस्तै शहरमा पढाइरहेको कक्षा (लाइभ लेसन) लाई गाउ’को स्कुलमा देखाउन सकिन्छ । घरमा भएको सेटअप बक्समा भएको क्यामेराबाट अस्पतालमा रहेको चिकित्सकसँग प्रत्यक्ष अन्तक्र्रिया गरेर उपचार गराउन सकिने सुविधा यसमा हुन्छ । आइपी टिभीमा भएको इकमर्सको माध्यमबाट घरमा बसेरै रिमोट थिचेर अनलाइन सपिङ गर्न सकिन्छ । डिजिडल साइनेजमार्फत ब्यवसायीले आफ्नो उत्पादनको विज्ञापन गर्न सक्छन् । आइपी टिभीमा फेसबुक, ट्वीटर, युट्युवलगायतका सामाजिक संजाल पनि प्रयोग गर्न सकिन्छ । त्यस्ता संजाल चलाउ“दा भने इन्टरनेट प्रयोग गर्दा ब्यण्डविथ खपत भएअनुसार अतिरिक्त शुल्क तिर्नु पर्छ । ‘आइपी टिभी प्रसारणले नेपालको प्रविधिमा फड्को मार्नेछ,’ आइएसपी एसोसिएसनका अध्यक्ष बिनय बोहराले भने, ‘समयको माग हो । समयअनुसारका प्रविधि भित्रनु मुलुकको लागि ठूलो उपलब्धी हो ।’ न्यु आइटी भेन्चर नेपालीले जापानमा स्थापना गरेको कम्पनी हो । यसको सफ्टवेयरलगायतका सबै पूर्वाधार नेपालीले डेभलप गरेको वल्र्डलिंकका प्रमुख प्राविधिक अधिकृत जनले बताए । नेपालमा यसअघि सुविसु केबल नेटवर्क, ओरिन्ट डिजिटल मेडियाले आइपी टिभी संचालन गर्ने लाइसेन्स लिएका थिए । सुविसुका अध्यक्ष सुधिर पराजुलीले प्रसारण गर्ने सामग्री थप्ने क्रम जारी रहेकाले आगामी एक महिनाभित्र ग्राहकसमक्ष पुर्याउने बताए ।

Source: Kantipur

Add a Comment

Your email address will not be published. Required fields are marked *