एप्सका नेपाली आविष्कारक

 झ्याप्प बत्ती जाने, झ्याप्पै आउने। विद्युत प्राधिकरणले लोडसेडिङ तालिका महिनैपिच्छे फेरिइरहने। कति बेला जान्छ–आउँछ समय हेरेर काम गर्नुपर्ने! धेरैपटक अफिसमा लोडसेडिङको तालिका प्रिन्ट गर्नुपर्थ्यो। काम गरिरहेको बेला एलिजा श्रेष्ठलाई झट्ट जुक्ति फुर्‍यो। यो अपडेट भइरहने तालिका सधैं मोबाइलमै आइदिने कुनै उपाय छ कि! उनको जुक्तिले आखिर राम्रै सफलता पायो।

सामान्य सोचबाटै चन्द्र श्रेष्ठ र एलिजाको जोडीले ‘नेपाल लोडसेडिङ सेड्युल’ एप्स तयार पारेका हुन्। एन्ड्रोइड फोनमा डाउनलोड गर्न सक्ने एप्लिकेसन आजभोलि निकै चर्चित छ। नेपालका पाँच लाखभन्दा बढीले डाउनलोड गरिसकेका छन्।

Chandra Shrestha
श्रेष्ठ जोडीमात्रै होइन, नेपाली एप्स निर्माणमा लाग्ने युवाहरूको संख्या बिस्तारै बढ्दो छ। छ वर्षदेखि एप्स निर्माणमा रहेका विश्वास ढकाल व्यावसायिक सफलता पाउने अर्का युवा हुन्। ‘एफवन सफ्ट’का अध्यक्षसमेत रहेका ढकाल समूहले ‘इ–बैंकिङ सेवा’, ‘न्युज पोर्टल’, ‘विज्ञापन’लगायत थुप्रै एप्स तयार पारिसकेको छ। मोबाइल बैंकिङ सेवालाई एप्सले सम्भव बनाएको उनले बताए। एप्स निर्माणलाई व्यावसायिकतामा बदलेका उनले धेरैजसो बैंकका एप्स तयार पार्ने गर्छन्। अहिलेसम्म साथीहरूसँगको सहकार्यमा उनले सयभन्दा बढी एप्स बनाइसकेका छन्।
ढकालले महिना दिनअघि ‘क्लासिफाइड बाइ एन्ड सेल’एप्स निर्माण गरे। ‘त्यसले क्रेता र बिक्रेताको सम्बन्धलाई अझै निकट बनाएको छ,’ उनी भन्छन्, ‘हरेकले आफ्नो उत्पादन त्यहीँ अपलोड गर्न सक्छन्। आफ्नो बजेटअनुसार हरेक खालका सामान किन्न र बेच्न पाइन्छ।’ यो एप्स एक किसिमको अनलाइन हाटबजार भएको उनले दाबी गरे। अहिलेसम्म सो एप्समा पाँच हजार सामान अपलोड भइसकेका छन्। जुनसुकै सामान किन्न धाइरहनुपर्दैन एप्समै काम गर्न सकिन्छ। आफूसँग भएका बेच्नुपर्ने सामान आफै अपलोड गर्न सक्ने सिस्टम रहेको उनी बताउँछन्।
‘क्यास अन एड’ (मोबाइलको रिङटोनमा विज्ञापन बजेबापत पैसा आउने) उनले नै बनाएका थिए। एप्लिकेसनको पेटेन्ट उनीसँगै छ। भन्छन्, ‘नेपाली एप्सले पनि विश्वसँग कनेक्ट हुने मौका पाएको छ। एप्सको भविष्य निकै राम्रो छ।’ मान्छेको आवश्यकतासँगै एप्सका माग बढ्ने उनको अनुभव छ।
नेपालीको मनसाय बुझेर ढकाल एप्स बनाउने सोचमा हुन्छन्। चुनौतीपूर्ण तर भविष्य देखेरै यस क्षेत्रमा लागेका उनी ‘नेपालमा प्रविधिबाट कोही धनी हुन्छ भने एप्स बेचेरै धनी हुन सक्छ’ भन्नेमा विश्वस्त छन्। एप्सको गुणस्तर र डिजाइनकै आधारमा मूल्य निर्धारण हुन्छ। ‘लामो समय चलिरहने एप्स बनाउँदा गुणस्तरमै ध्यान दिनुपर्छ,’ उनी भन्छन्।
नेपाल टेलिकमका अनुसार नेपालका बेस्ट एन्ड्रोइड एप्समा ‘नेपाल लोडसेडिङ सेड्युल’, ‘नेपाली पात्रो’, ‘न्युज अफ नेपाल’, ‘रेडियो नेपाल’, ‘नेपाल म्युजिक संसार’, ‘ट्रेक नेपाल’, ‘जिएसएम टुल फर नेपाल’, ‘इङ्लिस नेपाली डिक्सनरी’, ‘मेरो जब डटकम’, ‘बाघचाल’ रहेका छन्। नेपालको स्मार्टफोन मार्केटमा यी एप्लिकेसन चर्चित रहेको टेलिकमले जनाएको छ। नेपालमा दैनिक उपयोगी खालका एप्स काम लाग्ने मोबाइल उपभोक्ता बताउँछन्।
‘एप्स भनेको आइडिया खेलाउने साधन हो। आफैसँग सिप छ भने धेरै खर्च गर्नुपर्दैन,’ डेभलपर चन्द्र श्रेष्ठ भन्छन्, ‘दिमाग र लगनशीलता चाहिन्छ। समाजले के खोज्दै छ, अनुसन्धान पनि गर्नुपर्छ।’
दैनिक जीवनसँग जोडिएका एप्स तयार पार्न सके सबैको ध्यान तान्न सकिने र युजर बढ्ने उनी तर्क गर्छन्। राजधानीका पसलमा हुने ‘सेल’लाई लिएर एप्स निर्माण गर्दै छन्, उनी। ‘कुन ठाउँमा कति छुटमा सामग्री बिक्री भइरहेछ भन्ने जानकारी दिन र किन्न चाहने उपभोक्तालाई अनलाइनमार्फत सुविधा भएको एप्स बनाउँदै छौं,’ उनले भने। आँबुखैरेनी तनहुँका श्रेष्ठले पुल्चोकबाट कम्प्युटर इन्जिनियरिङ सकेका हुन्।
गाउँघरका महिलालाई गर्भवती महिला र शिशुलाई लक्षित गरी यागितेन प्रालिले एप्स ल्याएको छ। वायरलेस हिरो महावीर पुन संलग्न सो संस्थाका राजेन्द्रप्रसाद पौडेल, अमित श्रेष्ठ, दुर्गाप्रसाद पौडेललगायतको सहकार्यमा ‘आमाको माया’ एप्स तयार भएको हो। गाउँघरका स्वास्थ्य संस्था पुग्न नसक्ने महिलाका समस्यालाई लक्षित गरी दुई वर्ष देखि अनुसन्धान प्रोजेक्टबाट एप्स ल्याइएको डेभलपर दुर्गाप्रसादले बताए।
मकवानपुर, रसुवा, म्याग्दीलगायतका ठाउँमा अनुसन्धान गरी एप्स तयार गरिएको थियो। ‘सुरुमा भिडियो बनाएर देखायौं। रेडियोमात्र सुनिरहेका गाउँका महिला उत्साहित बनेपछि एप्स बनाएका हौं,’ पौडेल सुनाउँछन्।
स्मार्ट फोनमा अनलाइनमार्फत सबै थाहा पाउन सकिने गरी एप्स बनाइएको उनले बताए। ‘नेटवर्क नभएको ठाउँमा गाह्रो भयो,’ उनी अनुभव साट्छन्, ‘स्मार्ट फोन त सबैको हातमा छ। स्वास्थ्य स्वयंसेविकामार्फत सुरु गरेका छौं।’
उपस्वास्थ्य चौकी, स्वयंसेविकासँगको सहकार्यमा मकवानपुर, रसुवा, चितवन, नुवाकोट जिल्लामा परीक्षण गरिएको छ। यो एप्सले स्वास्थ्य मन्त्रालयमा गर्भवतीको तथ्यांक सिधै संकलन गर्न मिल्ने पौडेलले बताए। ‘हेल्थपोस्ट खातामा लेखेर बुझाउने केन्द्रमा बुझाउनुपर्ने कामलाई अनलाइन बनाएका छौं। भिडियो, अडियो सबै मोबाइलमै हेर्न, सुन्न सकिन्छ,’ उनी अझै सुधार गरेर जाने योजनामा छन्। कम्प्युटर इन्जिनियरिङ सकेका पौडेल व्यावसायिक एप्स निर्माणमा जुटिरहेका छन्।
नेपालीका दैनिक जीवनमा काम लाग्ने साधारण एप्लिकेसन तयार पारिएका छन्। नेपाली जोक, हाम्रो किबोर्ड, नेपाली पात्रो, टाइप नेपाली, नेपाली डिक्सनरी, नेपाली लाइभ टिभी, नेपाली न्युज, नेपाली मुभी, गाउँ खाने कथा, नेपाली रेसिपी, नेपाली क्वीज, लोकभाका, नेपाली उखान टुक्का, तरकारीजस्ता सयभन्दा बढी एप्स निर्माण भइसकेका छन्।
केशवराज महर्जन, विरीजन महर्जन, जुजन पिया, यादव अर्याल, प्रकाश प्रसार्इं मिलेर बनाएको ‘नेपाली पात्रो’ले तिथिमितिबारे धेरैलाई जानकारी गराएको छ। यो एप्स पाँच लाखभन्दा बढीले डाउनलोड गरिसकेका छन्। तिथिमिति विदेशमा बस्ने नेपालीबीच पनि लोकप्रिय भएको छ। नेपाली डेभलपरले विभिन्न अपरेटिङ सिस्टमलाई लक्षित गरी बनाइएको एप्सले धेरैको मन जितेका छन्।
आइफोनका लागि शंकर उप्रेतीले ‘नेपाली क्यालेन्डर’, दीपक ढकालले ‘नेपाली एफएम’ र राज बालाले ‘टाइप नेपाली’ एप्स बनाएका हुन्। नोकिया, विन्डोजमा पनि उपयोगी नेपाली एप्स स्टोरमा छन्।

एप्सको आय

डेभलपमेन्ट र डिजाइनिङमा शुल्क लाग्छ। कोडिङ, एप्लिकेसन डेभलप गर्नुपर्छ। एप्स बजारमा पुर्‍याउने पोर्टल चाहिन्छ। गुगल पपुलर ‘प्लेस्टोर’ नै एप्सको मुख्य बजार बनेको छ। डेभलपरले आफ्नो एकाउन्ट रजिस्ट्रेसनका लागि २५ डलर तिर्नुपर्छ।
एप्लिकेसनहरू प्रायः डाटाबेस नै हुन्छन्। जसका लागि वेबस्पेस पनि किन्नुपर्छ। ड्रप बक्सलाई महिनाको १० डलर तिर्नुपर्छ। वेब स्पेस किन्दा दुई सय डलर पर्छ।
एप्लिकेसनमा राखिएको ‘एड मोब इम्प्रेसन’ नामक एड युजरले देख्न सक्छन्। युजरले क्लिक गरी डाउनलोड गरेकै भरमा एडबाट आएको आम्दानी अन्तर्राष्ट्रिय बैंक अकाउन्टमा जम्मा गरिदिन्छ। लोडसेडिङ एप्सका डेभलपर चन्द्र श्रेष्ठले भने, ‘कहिलेकाहीँ दिनको दुई सय डलरसम्म आयो। औसतमा मासिक सात सय डलरसम्म जम्मा भइरहेको छ।’

– See more at: http://nagariknews.com/nagarik-sanibar/story/23045.html#sthash.kuOEKgaC.ASg2vuDY.dpuf

Add a Comment

Your email address will not be published. Required fields are marked *